१८ माघ, काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।
दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक सुरु हुने छ । बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।
सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद्हरुको मनोनयन गर्ने कार्यसूचीमा उल्लेख छ । त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ आफ्नो मन्तव्य राख्नेछन् ।
राष्ट्रिय सभा बैठकमा पनि सुरूमा अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउनेछन्। त्यसपछि अध्यक्षले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोर जानकारी गराउनेछन्। राष्ट्रिय सभा बैठकमा पनि अध्यादेशहरू पेस हुनेछन्।