१८ माघ, काठमाडौं । अमेरिकामा भएको विमान दुर्घटनापछि उद्धार कार्यलाई स्थगित गरिएको छ।
हेलिकप्टरसँग ठोक्किएपछि विमान पोटोमाक नदीमा खसेको थियो, उद्धार टोली नदीमा खोजी कार्यमा खटिएको थियो । गोताखोरहरूले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै खोजी अभियानलाई रोक्ने निर्णय गरेका हुन् ।अमेरिकी कोस्ट गार्डले भने विमानको भग्नावशेष हटाउने कार्यलाई प्राथमिकता दिइरहेको जनाएको छ ।
त्यसपछि पुनः खोजी कार्य सुचारु गरिनेछ । पानीको बहाव र मौसमको प्रतिकूल अवस्थाले गोताखोरहरूको कामलाई चुनौतीपूर्ण बनाएको छ । परिस्थिति अनुकूल भएपछि उद्धार कार्य पुनःसुरू गरिने बताइएको छ। स्थानीय समयानुसार बुधबार राति करिब ९ बजे अमेरिकी एयरलाइन्सको विमान वासिङटन डीसीनजिकै आकाशमा ब्ल्याक हक हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । यद्यपि हालसम्म ४० जनाको मात्रै शव निकालिएको छ ।