१८ माघ, काठमाडौं । बिहीबार बिहान ओखलढुंगामा भएको टाटासुमो दुर्घटनाका फरार चालक भक्तपुरमा फेला परेका छन् ।
खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौँतर्फ आउँदै गरेको ‘पूर्व खोटाङ यातायात प्रालि’को ना १ ज ६४२१ नम्बरको सुमो बिहीबार बिहान ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । सो दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङर हेका छन् । यता सामान्य घाइते भएका चालक भने घटनास्थलबाट भागेर भक्तपुर आईपुगेको खुलेको हो ।
उक्त टाटासुमो सुनसरीको इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डितले चलाएका थिए ।चालक पण्डितको भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उनले सुमो दुर्घटनाबारे प्रहरीलाई समेत जानकारी नदिएको देखिएको छ ।
उनी सामान्य घाइते मात्रै भएका प्रहरीले जनाएको छ । आगोले पोलेर घाइते भएकी मायालाई लिएर उनका छोरा पुजन र बहिनी तारा काठमाडौँ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो।