१८ माघ, काठमाडौं । जापानमा सडकमा अकस्मात बनेको खाल्डोमा एउटा ट्रकसहित चालक खसेका छन् ।
टोकियो नजिकै सडकमा बनेको एउटा ठूलो र गहिरो खाडलमा फसेका ७४ वर्षीय ट्रक चालकलाई उद्धारकर्मीहरू बचाउन प्रयास गरिरहेका छन् । तीन दिनदेखि प्रयास जारी राखे पनि ती ट्रक चालकलाई अझै उद्धार गरेर बाहिर ल्याउन सकिएको छैन ।
लगभग दस मिटर चौडाइ र गहिराइ भएको यो खाडलमा मंगलबार बिहान एउटा ट्रक खसेको थियो । सडकमा गाडी रोकिरहेका बेला मुनिको जमिन अकस्मात् भासिएर ठूलो खाडल बनेको थियो ।
खाडलमा पानी चुहिरहेको र नजिकै भूमिगत ग्यास पाइपहरूको रहेकाले उद्धारकर्मीहरू थप चिन्तित बनेका छन् । खाडलमा पानी भरिँदै गएको र चालकको सिट पनि डुबेको अनुमान छ।