|  

ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने ट्रम्पको धम्की !

१७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने आफ्नो धम्की पुनः दोर्होयाएका छन ।

क्यानडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा उनको यस्तो धम्की सार्वजनिक भएको हो । उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेको र हामी हेरेर बस्ने अवस्था अब समाप्त भएको छ । हामी यी देखिनेरूपमा शत्रुवत देशहरूबाट प्रतिबद्धता माग्नेछौँ कि उनीहरूले न त नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन, न त शक्तिशाली अमेरिकी डलरको प्रतिस्थापन गर्न कुनै अन्य मुद्रालाई समर्थन गर्नेछन, अन्यथा उनीहरूले सतप्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ ।’

यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा सतप्रतिशत कर लगाउने धम्की दिएका थिए ।