१८ माघ, काठमाडौं । रास्वपाका निलम्बित सांसद रवि लामिछाने र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
आज लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका हुन् । भेटमा लामिछानेले आजको बैठकबाट सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।
सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन फुकुवा निवेदन बुझाउँदै लामिछानेले आफ्नो सांसद पद निलम्बन कानुनसम्म नभएको भन्दै निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।
लामिछानेले भने,‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनुस् ।’
यता जवाफमा सभामुख घिमिरेले लामिछानेलाई विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताए ।
उनले भने,‘ मैले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद सुरु हुने अन्तिम समयमा छौं ।’
त्यस्तै सभामुख घिमिरेले रविले आफ्नो कुरा राखेपछि केही प्रश्न समेत सोधेका छन् । ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’, सभामुखको प्रश्नपछि रविले कानुन व्यवसायीलाई स्पष्ट पार्न भनेका थिए ।