|  

‘म त ढलेँ, ढलेँ’ गीत राजनीति मञ्चमा सुहाएन :  प्रधानमन्त्री ओली

१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा नरहेको स्पष्ट गरेका छन् ।

ओलीले शान्तिश्री परियारले गाएको ढलेँढलेँ गीत गाएर सरकार ढाल्ने कुरामा नलाग्न नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षीलाई आग्रह गरे ।

‘एउटा गीत बजारमा ढलेँढलेँ भन्ने अहिले व्यापक प्रचारमा छ । त्यस्तै गीत अहिले सरकार ढल्यो भन्दै विपक्षीहरूले गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो…। पुस मसान्तमै ढल्यो, आज ढल्यो, भोलि ढल्यो, पर्सि ढल्यो । तर सरकार ०८४ सम्म मज्जाले जान्छ । ढलेँढलेँ गीत राजनीति मञ्चमा गाएको सुहाएन ।’

उनले कुनै पनि दल फुटाउने पक्षमा यो सरकार नरहेको पनि बताए । ‘पार्टी फुटाउने-टुक्र्याउने कुरा यस सरकारको मेन्युमा छैन । विपक्षी साथीहरूले एउटै कुरामा समय व्यर्थ फालेको देखेको छु । सरकार ढल्छ । टल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति आदि’, उनले भने, ‘एउटा गीत बजारमा ढलेँ-ढलेँ भन्ने प्रचारमा छ । यो आमरुपमा विपक्षीले गाएको सुन्छु । ढल्यो, ढल्यो, ढल्यो । आज ढल्यो, भोलि ढल्यो, पर्सि ढल्यो । यो गीत मनोरञ्जनका लागि गाउँदा ठिक होला तर, राजनीति मञ्चमा गाएको सुहाएन । यो गीतको के नक्कल किन गरेको होला ? ढुक्क भए हुन्छ, ०८४ सम्म यो सरकार चलमल गर्ने छैन ।’

उनले दिनरात सरकार ढलेको हल्ला गरेर बस्नुभन्दा जनताको जीवनमा अर्थ लाग्ने कुरा गरेर अघि बढ्न प्रतिपक्षीलाई आग्रह गरे ।