१८ माघ, काठमाडौं । टिकटकमा भिडिओ शेयर गरेको विषयमा विवाद बढेपछि पाकिस्तानमा आफ्नै बाबुले १५ वर्षीया छोरीको हत्या गरेका छन् ।
क्वेटा सहरमा मंगलबार साँझ सडकमा गोली हानेर किशोरीको हत्या भएको थियो । सुरुमा आरोपी अनवर उल-हकले अज्ञात व्यक्तिले गोली हानेको दाबी गरे पनि पछि आफैंले छोरीलाई मारेको स्वीकार गरेका छन । अनुसन्धान अधिकारीहरूका अनुसार परिवारले किशोरीको लुगा लगाउने शैली, जीवनशैली र सामाजिक घुलमिलप्रति आपत्ति जनाएको थियो । प्रहरीले उनको मोबाइल फोन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
अनवरको परिवार करिब २५ वर्षसम्म अमेरिकामा बसेर केही समयअघि मात्र पाकिस्तान फर्किएको थियो । बुवाले छोरी अमेरिकामा हुँदा नै ‘आपत्तिजनक’ सामग्री टिकटकमा अपलोड गर्न थालेको बताएका छन् । पाकिस्तान फर्किएपछि पनि छोरीले त्यस्तो कार्य जारी राखेपछि हत्या गरेको अनवरले बयान दिएका छन ।