|  

नेकपा एसतर्फ इंगित गर्दै योगेशले भने-‘अध्यादेशबाट जन्मिएको पार्टीले नै विरोध गरेकोमा अचम्म लाग्यो

१८ माघ, काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन ।

भट्टराईले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै अध्यादेशबाट जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेकोमा अचम्म मानेको बताएका हुन् । उनले भनेका छन्,‘आज मलाई अचम्म त यो कुरामा लागिरहेको छ कि जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ । अध्यादेशबाट जन्मिएको छ, अध्यादेश नै ठिक छैन भनिरहेको छ । यो चाहिँ अचम्म हुन लागेको छ नेपालमा ।’

२०७८ सालमा अध्यादेशमार्फत नै पार्टी विभाजन गरेर माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए । उनले २०७८ सालमा १६ वटा अध्यादेश आएको भन्दै त्यतिबेला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली नभएको पनि जिकिर गरे ।