१८ माघ, काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई जिल्ला अदालत, भक्तपुरले २० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश सन्तोषकुमार पराजुलीको एकल इजलासले आज धरौटीमा छोड्न भनेको हो । काठमाडौं जिल्ला अदालतले माघ १४ गते तामाङलाई अभद्र व्यवहारको कसूरमा १० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । काठमाडौंमा रिहा भएकी आशिकालाई प्रहरीले हतकडी लगाएर भक्तपुर र्पुयाएको थियो । सामान्य कसूरमा पनि खुंखार अपराधीलाई जस्तो व्यवहार गरेको भन्दै प्रहरीको आलोचना भएको छ । उनले गत असोजमा भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगाको झोलुंगे पुल तर्दा शुल्क लिएको भन्दै सामाजिक सञ्जालमा भिडिओ हालेकी थिइन । केही दिनपछि उनले साथी लगेर शुल्क उठाउन राखिएको बूथ र टिकट जलाएकी थिइन । यही घटनाबारे प्रहरीमा उजुरी परेको थियो ।