१९ माघ, काठमाडौं । चर्चित गायिका एलिना चौहानले अंश र माना चामल नलिनेगरी पति बिष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । एलिनाले हिजो काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।
पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेकी हुन् । उनले फिराद पत्रमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएकी छिन् । पति विष्णुले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा उल्लेख गरेकी छिन् ।कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरूबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् ।
‘म कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेर्दै अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने’भनी सम्बन्ध विच्छेदका लागि फिराद पत्र दर्ता गरेकी हुन्।उनले सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो जीवन विताउन ‘श्रेयष्कर’ हुने उल्लेख गरेकी छिन्।
सम्बन्ध विच्छेद गर्दा उनले पतिसँग अंश र माना–चामल नलिने फिराद पत्रमा उल्लेख गरेकी छिन् । एलिना र विष्णुबीच वैशाख ५ गते झापा, बिर्तामोडमा विवाह भएको थियो । बाग्लुङका विष्णु सापकोटा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । प्रेम सम्बन्धमा रहेकै बेलामा पनि उनीहरूबीच ब्रेकअपको हल्ला फैलिएको थियो । तर, यो हल्लालाई बदर गर्दै उनीहरूले लगनगाँठो कसेका थिए ।