१९ माघ, काठमाडौं । अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटना भएको छ।
शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक एउटा प्राइभेट विमान दुर्घटना भएको हो । फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड–ब्रान्सन विमानस्थल जाँदै गरेको विमानमा ६ जना सवार रहेको अमेरिकाको उड्डयन विभागले जनाएको छ ।
जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो जहाज दुर्घटना भएको विज्ञप्तीमार्फत जानकारी दिएको छ।विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनको हेरचाहमा आएका एकजना सवार थिए। जमिनमा खसेलगत्तै जहाजमा आगो लागेको र केहीबेरमै भीषण रूप लिँदै विस्फोट भएको थियो ।
विमानमा सवारमध्ये कोही पनि ज्युँदो नरहेको स्रोतले जनाएको छ । अमेरिकाको वासिङ्टनमा बुधबार मात्रै ६४ जना यात्रु सवार जहाज र सेनाको हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये केही शव अझै फेला परेको छैन।