|  

महाकुम्भ मेलाबाट फर्किदै गर्दा बिहारमा जिप दुर्घटनाः एकै परिवारका ५ नेपालीको मृत्यु

२० माघ, काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किने क्रममा बिहारको मुजफ्फरपुरमा जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परी एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन । शनिबार दिउँसो मधुबनी मन्दिर नजिकै दुर्घटना भएको बीआर ३२ पीए ४६६१ नम्बरको स्कार्पियोमा महोत्तरीको मनरा शिसवा नगरपालिकाका तीर्थयात्रीहरू सवार थिए । तीव्र गतिमा रहेको जिप अचानक अनियन्त्रित भई पल्टिँदा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र चालकको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 

दुर्घटनामा घाइते भएका मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र एक अन्य व्यक्तिको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि एसकेएमसीएच अस्पताल पठाइएको छ । मृतकहरू महाकुम्भमा स्नान गरेर अयोध्या हुँदै वाराणसी पुगेपछि नेपाल फर्किने क्रममा थिए । प्रत्यक्षदर्शीहरूका अनुसार, जिप तीव्र गतिमा रहँदा एक मोटरसाइकललाई जोगाउने प्रयासमा नियन्त्रण गुमाएर दुर्घटनामा परेको थियो ।