२० माघ, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा जारी सिजन २०२४-२५ का लागि अन्तिम १६ र नकआउट प्लेअफ चरणको ड्र सार्वजनिक भएको छ ।
यूईएफएले शुक्रवार राति स्विट्जरल्यान्डको नियोनस्थित केन्द्रीय कार्यालयमा नकआउट चरणको ड्र घोषणा गरेको हो । ३६ क्लब खेल्ने नयाँ ढाँचामा लिग चरणका शीर्ष ८ टोली सोझै अन्तिम १६ मा प्रवेश गरे भने नवौंदेखि २४ औं स्थानका टोलीले प्लेअफ खेल्नुपर्ने भएको हो । प्लेअफका खेल नकआउट ढाँचामा हुनेछ । ड्र अनुसार सोझै अन्तिम १६ मा प्रवेश गर्न नसकेका म्यानचेस्टर सिटी र रियल मेड्रिडको भिडन्त प्लेअफ चरणमै हुने भएको छ । दुई शीर्ष टोलीमध्ये एक टोली अन्तिम १६ पुग्ने छैन। यो खेललाई अन्तिम १६ र प्लेअफ चरणकै सबैभन्दा प्रतिस्पर्धात्मक खेल मान्न सकिन्छ ।
यस्तै, ड्र अनुसार प्लेअफ चरणको लागि ब्रेस्टसँग पेरिस सेन्ट जर्मेन (पीएसजी) ले खेल्नेछ। त्यसै गरी क्लब ब्रुग्गेविरुद्ध एटलान्टा, युभेन्टसविरुद्ध पीएसभी आइन्डओभेन, मोनाकोविरुद्ध बेनेफिका, स्पोर्टिङ सिपीविरूद्ध बोरुसिया डर्टमन्ड, सेल्टिकविरुद्ध बायर्न म्युनिख र फेयेनुर्डविरुद्ध इन्टर मिलानले खेल्नेछन् । यूईएफएको कार्यक्रम र खेल तालिकाअनुसार नकआउट ढाँचाको प्लेअफ् खेलहरू फेब्रुअरीको ११, १२, १८ र १९ तारिखमा हुनेछन् । अन्तिम १६ का खेलहरू मार्च महिनाको ४, ५, ११, १२ तारिखमा हुनेछन् । क्वार्टरफाइनलका खेल अप्रिल महिनाको ८, ९, १५ र १६ तारिखमा हुने तालिका छ। सेमिफाइनलका खेल अप्रिल महिनाको २९ र ३० तथा दोस्रो लेगका खेल मे महिनाको ६ र ७ तारिखमा हुनेछन् । फाइनल खेल मे ३१ मा हुनेछ ।