|  

महाकुम्भबाट फर्किंदै गर्दा सवारी दुर्घटना अपडेटः मृतकको शव नेपाल ल्याउने तयारी

२० माघ, काठमाडौं । भारतको मधुवनीमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने पाँचजना नेपालीको शव आज नेपाल ल्याइने भएको छ ।

मृतकको शव लिनको लागि आफन्त भारततर्फ प्रस्थान गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गरेर फर्किंरहेका नेपाली यात्रु सवार बी आर ३२ पी ए ४६६१ नम्बरको गाडी भारतको मुजफ्फपुरस्थित सदरथाना क्षेत्रको मादापुरमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना भएको थियो । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ निवासी ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका(२ घर भएका ५० वर्षीया मनतारन देवी र धनुषाको नगराइन नगरपालिका गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छिन । मृतक जिप चालक सिराहाका भएको प्रहरीले जनाएको छ । तर, अझैसम्म उनको परिचय नखुलेको भनिएको छ । 

सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी र नातिनी आठ वर्षीया सृष्टि झा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । बालिका सृष्टि अर्चनाकी छोरी हुन ।