२० माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् ।
रौतहटको गौरमा पुगेर उनले व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तरराष्ट्रिय विमानस्थल अनिवार्य भएको बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले निजगढ(काठमाडौँमा ‘फास्ट ट्र्याक’ को निमार्णका साथसाथै निजगढ विमानस्थलको निर्माण अति जरुरी रहेको बताए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका पहल गरिरहेको भन्दै उनले नेपाल–भारतको सीमा समस्याबारे केन्द्रबाट समाधान गरिनुपर्ने धारणा राखे ।
स्थानीय स्तरमा दुवै देशका जनप्रतिनिधिले आवश्यकताका आधारमा आआफ्नो तर्फबाट पहल गर्नुपर्ने भन्दै दीर्घकालीन समाधान गर्न केन्द्रीय स्तरबाट नीतिगत रूपमा समाधान गर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिए । सीमा समस्या समाधानका लागि जुनसुकै समयमा सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो। अध्यक्ष नेपालले दुवै देशका नागरिकहरूको हित हुनेगरी सरकारले काम गर्नुपर्ने धारणा राखे ।