|  

तनहुँमा ग्यास बुलेट दुर्घटनाः एक भारतीयकाे मृत्यु

२० माघ, काठमाडौं । तनहुँमा ग्यास बुलेट दुर्घटना हुँदा १ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा एचआर ५५ क्यू ४७११ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मुग्लिनबाट दमौली जाँदै गरेको बुलेट हिजो साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा भारतको विहार पूर्वी चम्पारण बस्ने ३६ वर्षीय श्रीकान्त कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि दमौली अस्पताल लगिएको थियो । उपचारको क्रममा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।