|  

१० प्रतिशत कर लगाउने ट्रम्पको आदेशविरुद्ध चीनले जवाफी कारबाही गर्ने

२० माघ, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने आदेश दिएसँगै चीनको वाणिज्य मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ ।

जसमा ट्रम्पको कदमविरुद्ध जवाफी कारबाही गर्ने भनिएको छ । चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘चीन यस कदमबाट पूर्ण रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ ।’

यसले विश्व व्यापार संगठनको नियमको ‘गम्भीर उल्लङ्घन’ चीनको ठहर छ । चीनले यस्तो कदम चीन र अमेरिकाबीचको सामान्य आर्थिक तथा व्यापारिक सहयोगका लागि हानिकारक रहेको बताएको छ ।

चीनले अब अमेरिकाको ‘गलत व्यवहार’ विरुद्ध विश्व व्यापार संगठनमा मुद्दा हाल्ने र ‘आफ्नो अधिकार र हितको रक्षा गर्न’ प्रतिकारात्मक कदम चाल्ने जनाएको छ ।