|  

केन्द्रीय बैंकद्वारा ४० अर्बको निक्षेप संकलन जारी 

२० माघ, काठमाडौं । केन्द्रीय बैंकले आज बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो । आज माघ २० गते उक्त २१ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले गत पुस २८ गते लिएको ४० अर्ब आजै परिपक्क भएपछि थप ४० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ ।

अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि गएको खण्डमा तरलता बजारमा पठाउने गर्छ । त्यसैगरी, ३ प्रतिशत भन्दा तल आएको खण्डमा बजारबाट तरलता खिच्छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी मिति फागुन ११ गते निर्धारण भएको छ । ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।