२० माघ, काठमाडौं । राष्ट्रिय सभा सांसद वामदेव गौतमले फरक-फरक सिद्धान्त बोकेका नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर खिचडी राजनीतिक गरिरहेको बताएका छन् ।
आइतबार राष्ट्रिय सभामा बोल्दै उनले फरक सिद्धान्त बोकेका पार्टीको खिचडी राजनीति बहिष्कार गर्नुपर्ने बताए।
‘खिचडी राजनीतिक के हो भने कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी दुइटाका सिद्धान्त फरक छन्। र कहिले चुनाव पनि सँगै गरेको छ, कहिले सरकार सँगै गरेको छ। जनताको बीचमा गएर त्यही भन्नुभएको हो ? यदि जनताका बीचमा फरक किसिमले गएका छौं भने निर्माण पनि फरक किसिमले गर्नुपर्छ। जनताले जाँच्न पाउनुपर्छ,’ उनले भने, ‘माघेसंक्रान्तिमा खिचडी चाहिन्छ अरू बेला खिचडी राजनीति चाहिँदैन, यसलाई बहिष्कार गरौं।’
हरेक पार्टीले स्वतन्त्र ढंगले जनताका बीचमा जाने आफ्ना विचार राख्ने त्यो विचारका आधारमा संगठन निर्माण गरेर देखाउने यस्तो ठाउँमा नेपाली राजनीति पुग्नुपर्ने उनले बताए। उनले मुलुकको राजनीति सपाट बनाउन लागिपर्नुपर्ने पनि धारणा राखे।