|  

देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गर्छुः मन्त्री यादव

२० माघ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने बताएका छन् ।

आज वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कुलको १६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा खानेपानीको धारा वितरण र जडानका लागि गृहकार्य भइरहेको बताए ।

उनले भने, ‘चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा हामी निःशुल्क खानेपानीको धारा जडान तथा वितरण गर्दै छौँ । अब सामुदायिक विद्यालयमा खानेपानीको धारा जडान र वितरणमा कुनै शुल्क लाग्ने छैन । शून्य पैसामा सामुदायिक विद्यालयमा पानीका धारा जडान गरिनेछन् ।’

सामुदायिक विद्यालयहरूमा निःशुल्क रूपमा खानेपानी जडान गर्नका लागि शिक्षामन्त्रीसँगको समन्वयमा आफूले उक्त कार्य अघि बढाइरहेको मन्त्री यादवले जानकारी दिए ।