|  

मधेश केन्द्रित दलहरुको संयुक्त बैठक आज पनि बस्दै

२१ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहित मधेश केन्द्रित दलहरुको संयुक्त बैठक आज बस्दैछ ।

थारु-मधेश केन्द्रित ८ दलीय मोर्चा बनाउने प्रयासमा रहेका नेताहरुको संयुक्त बैठक आज दिउँसो १ बजे नाउपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि अपनाउने रणनीतिबारे छलफल गर्न आठ दलको बैठक बस्न लागेको सो पार्टीका नेताहरुले बताएका छन् । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका नेता केशव झाले भने, ‘समान विचारवाहक आठ दलीय मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजनासम्बन्धी छलफलका लागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरुलाई बैठकमा बोलाइएको छ ।’ 

नाउपाका संरक्षक रेशम चौधरीले मधेश केन्द्रित दलहरुको मोर्चाबारे एकअर्काको धारणा बुझ्न बैठक राखिएको बताए । बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरीलाई बोलाइएको छ ।

यसैगरी लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, रामुपा नेपालबाट राम नरेश राय र केशव झा, तमलोपाबाट वृषेश चन्द्र लाल र ब्रज किशोर सिंह तथा जनता प्रगतिशील पार्टीबाट शिवजी यादवलाई पनि बैठकमा बोलाइएको छ ।