|  

चितवनको फिस्लिङ नजिक कार र ट्रक एक आपसमा ठोक्किँदा १ जना घाइते

२१ माघ, काठमाडौं ।  पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छन् । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।

घाइते हुनेमा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका–४ की ५० वर्षीया मायादेवी उपाध्याय रहेकी छन् । उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य छ। उनलाई सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ ।