|  

महिला टी-२० आई शृंखलामा थाइल्याण्डको लगातार तेस्रो जित

२१ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२० आई शृंखलामा थाइल्याण्डले लगातार तेस्रो जित हात पारेको छ ।

आज भएको ‘लो स्कोरिङ’ खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको हो । थाइल्याण्डले दिएको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १६ औं ओभरमा ६९ रनमा अलआउट भयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले १९.५ ओभरमा अलआउट हुँदै ८६ रन बनाएको थियो । तीन जितसहित थाइल्याण्ड शृंखला जित्ने दाबेदार टोलीको रूपमा छ । 

शृंखलामा भोलि नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । लगातार तीन हार व्यहोरेको नेपाल यस खेलमा पराजित भएमा शृंखला जित्ने होडबाट बाहिरिनेछ ।