२१ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का कर्मचारीलाई निलम्बन गरेका छन् ।
उनले यूएसएआईडीका दुई उच्च अधिकारीसहित धेरै कर्मचारीहरूलाई निलम्बित गरेका हुन । निलम्बनमा पर्नेमा एजेन्सीका निर्देशक जोन वूर्हीज र उपनिर्देशक ब्रायन म्याकगिल लगायत छन् । उनीहरूको इलन मस्क नेतृत्वको गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीसँग यूएसएआईडी सिस्टममा पहुँचको विषयमा विवाद भएको थियो । डिपार्टमेन्टका कर्मचारीले सिस्टममा पहुँच दिन आग्रह गरे पनि यूएसएआईडीका अधिकारीहरूले अनुमति दिन नमानेपछि विवाद भएको हो । डिपार्टमेन्टका कर्मचारीहरूले यूएसएआईडीको मुख्यालयमा जबरजस्ती प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरूले सिस्टममा पहुँच नदिए सुरक्षा अधिकारीलाई बोलाउने धम्कीसमेत दिएका थिए ।
विवादका बीच उनीहरू यूएसएआईडीको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीहरू बिना अनुमति यूएसएआईडीको संवेदनशील स्थानहरूमा प्रवेश गरेको दाबी सीएनएनले गरेको छ । उनीहरूले नागरिकको गोप्य सूचना समेत संकलन गरेका थिए । गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टकी एक कर्मचारी कैटी मिलरले भने गोप्य सामग्रीमा बिना अनुमति पहुँच नगरिएको स्पष्ट पारेकी छन् ।
यसैबीच, अहिले यूएसएआईडीको वेबसाइड बन्द गरिएको छ । शनिबार यूएसएआईडीको आधिकारी वेबसाइट र सामाजिक सञ्जाल अकाउन्टहरू बन्द गरिएका हुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा शपथ लिएपछि विदेशमा जाने सबैप्रकारका सहायता ९० दिनका लागि रोक्ने आदेश दिएका थिए । उनले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन । यूएसएआईडीले विभिन्न देशका सरकारी, गैरसरकारी र निजी संस्थासँगै स्थानीय समुदायहरूसँग पनि मिलेर काम गर्दै आएको छ ।