२१ माघ, काठमाडौं । ‘नो केबलकार समूह’ ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
समूहले आज काठमाडौंको माइतीघर मण्डलामा विभिन्न प्लेकार्डसहित प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा मागेको हो । पाथीभरा केबलकारविरोधी समूह र प्रहरीबीच गत माघ १२ गते भएको झडपमा प्रहरीले चलाएको गोली दुई जना आन्दोलनकारी गम्भीर घाइते भएका थिए । त्यसयता केबलकार विरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ । माइतिघरमा प्रदर्शन गर्दै उनीहरूले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे’, ‘नो केबलकार’, ‘हजारौं प्रजातीका रुखहरू काट्ने विकास चाहिँदैन’, ‘सीडीओ लगायत दोषीलाई कारबाही गर’, ‘गिरफ्तार नागरिकलाई रिहाइ गर’, ‘मुक्कुम्लुङमा राज्य आतंक बन्द गर’ जस्ता नारा लगाएका थिए ।
यता विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको भनिएको छ । तर, वार्ता टोलीमा रहेका सदस्यहरुको नाम भने खुलाइएको छैन ।