२१ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको दाबी गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक मिलन केन्द्रको आज भवन शिलान्यास गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ज्येष्ठ नागरिकको सम्मानका लागि सचेत रहेको बताए । उनले यसको उदाहरण २०५२ सालमै तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागकिको सम्मानस्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुआत गरेको स्मरण गराए ।
तत्कालीन अवस्थामा रु १०० बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आफू अर्थमन्त्री हुँदा रु चार हजार र्पुयाउने अवसर पाएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले यसको श्रेय भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताए । ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुको ठूलो अर्थ र महत्व रहेको उल्लेख गर्दै उनले यसले राज्य ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात् गरेको बताए ।