२१ माघ, काठमाडौं । बाँकेमा झण्डै ३७ हजार किशोरी तथा बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदैछ ।
स्वास्थ्य कार्यालय, बाँकेले आज आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा ३६ हजार ९ सय ५० किशोरी तथा बालिकालाई एचपीभी खोप लगाइने जानकारी दिइएको हो । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अङ्गतबहादुर शाहीका अनुसार खोप लगाइने लक्षित समुदायमा राप्तीसोनारीमा ३ हजार १ सय ८३, कोहलपुरमा ७ हजार ४४८, बैजनाथमा ४ हजार ११४, खजुरामा ५ हजार ८७२, जानकीमा १ हजार ९५०, नेपालगञ्जमा ९ हजार ३१९, डुडुवामा दुई हजार ५८४ र नरैनापुरमा दुई हजार ४८० किशोरी तथा बालिका रहेका छन ।
पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २२ हजार ५८९ किशोरी तथा बालिकालाई यही माघ २२ गतेदेखि आगामी फागुन १ गतेसम्म खोप लगाइने छ । दोस्रो चरणमा माघ ३० गतेदेखि राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका १२ हजार ३६१ किशोरी र बालिकालाई खोप लगाउने लक्ष्य छ ।