२१ माघ, काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी थालेको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसुरमा लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्न लागिएको हो । तर प्रतिवेदन अध्ययनकै चरणमा रहेको र अभियोगपत्र निर्माण चलिरहेकाले कति जना र कति कम्पनी भन्ने विषयमा यकिन भइनसकेको भनिएको छ । यसअघि तथ्यांक नमिलेपछि कार्यालयले पुन यकिन गर्न भनेर फिर्ता गराएको प्रतिवेदनमा आवश्यक तथ्यांक प्रमाणिकरण गरी प्रहरीले उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका कारण केही दिन ढिला भएको थियो । ठगी र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरी प्रतिवेदन बुझाएको छ ।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड रकम सम्बन्धित जिल्ला अदालतमा बैंक धरौटी पेश गरेर छुटेका थिए ।