२१ माघ, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार देश बनाउनका लागि बनेको दाबी गरेका छन् ।
वर्तमान सरकार दिन बिताउन नभई देश बनाउनका लागि बनेको दाबी गर्दै अर्थमन्त्री पौडेलले सरकार विकास र सुशासनमा केन्द्रित रहेको बताए ।
रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर माविको हीरक महोत्सवको सोमबार उद्घाटन गर्दै नेता पौडेलले विगतका सरकारले गरेका बेथितिलाई पन्छाउँदै नागरिकका निराशालाई आशामा बदलेर भौतिक र मानवीय विकासमा केन्द्रित भएको बताए ।
‘देश बनाउने ‘भिजनरी’ नेता प्रधानमन्त्री केपी ओली हुनुहुन्छ,’ पौडेलले भने, ‘उहाँ (ओली) दुनियाँका सक्षम नेतामध्येमा पर्नुहुन्छ, ओली जस्तोसुकै परीक्षा उत्तीर्ण गरेको ‘टेस्टेड लिडर’ हुनुहुन्छ । यस्तो नेताको नेतृत्वमा बनेको सरकारले ढुक्कसँग चल्छ । परिणाम दिनेगरी काम गर्दै अघि बढेको छ ।’
दुई ठूला शक्ति नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार देशमा राजनीतिक स्थायित्व दिँदै परिणाममुखी काममा केन्द्रित भएर अघि बढेको पौडेलको भनाइ छ ।