|  

टीकापुर घटनामा राज्य पूर्वाग्राही देखियोः रेशम चौधरी

२१ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा राज्य पूर्वाग्राही देखिएको र झुटा मुद्दा लगाउने काम भएको जनाएको छ ।

आज सिंहदरबारमा बसेको मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदल बैठकमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेण्डाबारे जानकारी गराउँदै यस्तो टिप्पणी गरेको हो । पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेण्डा बनाउन आग्रह गरिएको बताए । उनले भनेका छन,‘टीकापुर घटनामा ५८ जनाविरुद्ध झुटा मुद्दा लगाइएको थियो । २८ जना हामी जेल पनि बस्यौं । ३० जना अहिले पनि फरारको सूचीमा हुनुहुन्छ । ३ सय जनाको नाम अहिले पनि नाम र ठेगाना मिलेन भनेर तामेलीमा राखिएको छ । उनीहरूमाथि पनि जुनसुकै बेला मुद्दा चल्न सम्भावना छ ।’

उनले थरुहट र मधेस आन्दोलनका विषयमा गठित लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिएन भन्ने विषयमा पनि आफूहरूले चासो देखाएको बताए । उनले अहिले आएका कतिपय विधेयक र अध्यादेशमा पनि आफूहरूको असहमति रहेको बताए । भूमिसम्बन्धी अध्यादेश, सामाजिक सञ्जाल विधेयक र संविधान संशोधनको विशेषतः थ्रेस होल्डमा आफूहरूको आपत्ति रहेको उनको भनाई छ ।