२२ माघ, काठमाडौं । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यहरु गरी मनाइदैछ ।
अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको सङ्ख्या बढिरहेका बेला वर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ । क्यान्सर रोग निबारणका लागि आज पनि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेका छन् ।
खानपानमा ध्यान पुर्याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ ।
क्यान्सर रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ। यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा क्यान्सर रोगको उपचार गर्न सकिन्छ।