२२ माघ, काठमाडौं । आज फेब्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस ।
यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइने छ । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ ।