|  

पाथीभरा केबलकार विवादःदुई वार्ता समूहबीच आज पनि छलफल हुँदै 

२२ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा भएको विवाद समाधान गर्न गठीत सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीको बैठक आज पनि बस्ने भएको छ ।

सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको बताइएको छ । आज ११ बजे पुनः वार्ता सुरु हुने छ ।

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङं क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन् ।

पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलन भइरहेको छ । अरुणपूर्व ९ जिल्ला अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन भइरहेको छ । अन्दोलनको क्रममा दर्जन बढि घाइते भएका छन् भने यातायात सेवा बन्द हुँदा स्थानीयको दैनिक कार्य असहज बन्दै गएको छ ।