२२ माघ, काठमाडौं । प्रदूषण नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले सडकमा सवारी साधनको आकस्मिक चेकजाँच गरिरहेको छ ।
चेकजाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका छन् । ५ सय ९९ सवारीसाधन परीक्षण गर्दा ३ सय ४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत रहेको पाइएको महानगरपालिकाले जनाएको छ । जाँच गरिएका सवारीसाधनमध्ये पेट्रोलबाट सञ्चालित २३ र डिजेलबाट सञ्चालित ३ सय २२ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका महानगरको वातावरण विभागले जनाएको छ । पेट्रोलभन्दा डिजेलबाट सञ्चालित सवारीसाधन बढी मापदण्ड विपरीत रहेका छन् । प्रदूषण नियन्त्रणका लागि पुस २९ गतेदेखि थालिएको सचेतनात्मक कार्यक्रम नियमित सञ्चालन भइरहेको छ ।
उक्त कार्यक्रमबाट सुधारको मौका दिँदा मापदण्ड पूरा नभएका सवारीसाधनलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मका कारबाहीको तयारी भइरहेको छ । हालसम्म कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर सञ्चालित सवारीसाधनको परीक्षण भएको छ । परीक्षणका क्रममा मापदण्ड विपरीत पाइएका सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालित तथा स्कूल बस, सरकारी कार्यालयद्वारा सञ्चालित, सामान बोक्ने ट्रकलगायत रहेका विभागले जनाएको छ ।