२२ माघ, काठमाडौं । नेपाल टेलिकमले ‘भोवाईफाई’ सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ ।
आज टेलिकमको २१ औँ वार्षिकोत्सवको अवसरमा यो सेवा औपचारिक रूपमा सुरु गरिएको हो । यस प्रविधिमार्फत ‘भोवाईफाई’ सपोर्ट गर्ने र भोल्टे सेवा सक्रिय भएका कुनै पनि मोबाइल फोनबाट नेपालभित्र तथा विदेशबाट वाईफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गरी भ्वाइस तथा एसएमएस सेवा लिन सकिनेछ ।
कम्पनीका अनुसार नेपालभित्र यो सेवा प्रयोग गर्दा साविककै भ्वाइस र एसएमएस प्याकेज वा पे-एज-यू-गो दरअनुसार शुल्क लाग्नेछ । विदेशबाट यो सेवा प्रयोग गर्दा आगमन कल निःशुल्क हुनेछ भने बाहिर जाने कलको शुल्क प्रति मिनेट ३ लाग्नेछ । ‘भोवाईफाई’ सेवाको सुरुवातसँगै ग्राहकहरूलाई थप सहज र प्रविधिमैत्री सञ्चार सेवा उपलब्ध गराउने कम्पनीले योजना ल्याएको छ ।
के हो भोवाईफाई ?
‘भोवाईफाई’ अर्थात भ्वाइस ओभर वाईफाई एक प्रविधि हो, जसले प्रयोगकर्तालाई वाईफाई नेटवर्कमार्फत फोन कल तथा एसएमएस सेवा प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्छ । सामान्यतया, मोबाइल कलहरू सेलुलर नेटवर्क (जस्तै टुजी, थ्रीजी, फोरजी) को माध्यमबाट गरिन्छ । तर ‘भोवाईफाई’ सेवाले मोबाइल नेटवर्क नभएको ठाउँमा पनि वाईफाईमार्फत कल गर्न र एसएमएस पठाउन सक्षम बनाउँछ । यदि तपाईंको मोबाइलमा ‘भोवाईफाई’ सपोर्ट गर्ने फिचर छ र भोल्टे सेवा सक्रिय छ भने तपाईं आफ्नो मोबाइल नेटवर्कको साटो वाईफाईको माध्यमबाट फोन कल तथा एसएमएस पठाउन सक्नुहुन्छ ।
मोबाइल टावरको कमजोर सिग्नल भएका स्थानहरू जस्तैस घरभित्र, भूमिगत क्षेत्र वा दूरदराजका ठाउँहरूमा पनि ‘भोवाईफाई’ सेवाले वाईफाई इन्टरनेटमार्फत सम्पर्क सम्भव बनाउँछ । विदेशमा रहँदा पनि यदि तपाईं वाईफाई नेटवर्कमा हुनुहुन्छ भने नेपाल टेलिकमको ‘भोवाईफाई’ सेवाबाट नेपालभित्रै जस्तै कल गर्न र एसएमएस पठाउन सक्नुहुन्छ ।