२२ माघ, काठमाडौं । अमेरिकी संसद्को विदेश मामिला समितिका सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले नेपालमा ‘नास्तिकता’ धार्मिक अनास्था फैलाउन फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको खुलासा गरेका छन् ।
मास्टले ‘फेस द नेसन’ कार्यक्रममा भनेका छन्, ‘नास्तिकताका लागि पाँच लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम नेपालमा खर्च गरिएको छ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का गतिविधि रोक्नुका सम्बन्धमा भएको कुराकानीमा विदेश मामिला समितिका सभापति मास्टले उक्त खुलासा गरेका हुन् । उनले कोलम्बियामा ट्रान्सजेन्डर अपरेसनमा ५० हजार अमेकिरी डलर, पेरूमा एलजीबीटीक्यू सम्बन्धमा ४७ हजार अमेरिकी डलर, इक्वेडरमा ड्र्याग शोहरूमा २० हजार अमेरिकी डलर खर्च भएको उदाहरण पनि प्रस्तुत गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले विभिन्न देशलाई यूएसएआईडी मार्फत उपलब्ध गराउँदै आएको सहायताको दुरुपयोग भएको भन्दै एक आदेशमार्फत सहायता समीक्षाका लागि तीन महिना बन्द गर्ने निर्णय गरेका थिए । ट्रम्पको यस निर्णयले यूएसएआईडीले उपलब्ध गराउँदै आएका सहायता रोकिएका छन् । यसबाट नेपाल पनि प्रभावित भएको बेला मास्टले अमेरिकी सहायताको दुरुपयोग नेपालमा पनि भएको उदाहरण दिएका हुन् ।
मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरियो भनी प्रश्न उठाएका हुन् । उनले यसअघि पनि यस्तै अमेरिकी सदनमै यसको खुलासा गरेर बाइडेन सत्तालाई प्रश्न गरेका थिए । यति मात्र नभइ उनले अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र समेत लेखेका थिए ।
पछिल्ला वर्षहरूमा यूएसएआईडीले नेपाललाई वार्षिक औसतमा १२५ मिलियन अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउँदै आएको थियो । यो सहयोग रोकिँदा यूएसआईडी र यूएसएआईडीको सहायता लिई नेपालमा विकास कार्यक्रम चलाउने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)प्रभावित भएका छन् ।