|  

जनताको सेवामा जुट्ने अभियानमा प्रचण्ड !

२२ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् ।

माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरे । अब गम्भीर आत्मसमीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको उनको भनाइ थियो ।

पार्टीले के के राम्रा काम र्गयो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्त रुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए । आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको भन्दै उनले सेटिङमा देश चलाउनेहरुका विरुद्ध धावा बोलिएको बताए ।