|  

स्थापना भएको पाँच दशकपछि औषधि लिमिटेडले पायो जिएमपी प्रमाणपत्र !

२२ माघ, काठमाडौं । नेपाल औषधि लिमिटेडले स्थापना भएको पाँच दशकपछि अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र प्राप्त गरेको छ ।

लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि आज विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको हो । कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले भनेका छन,‘विसं २०२९ सालमा कम्पनी स्थापना भए पनि २०६४/०६५ सम्म जिएमपीको प्रावधान थिएन, यो प्रावधान आएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो । विसं २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधि उत्पादन सुरु गरेपछि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो ।’

प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धि भएको उनले बताए । हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाईसस  फ्लूइड  (पार्ट-१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ । कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरु बताए । सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने उनको भनाइ छ ।