|  

पासपोर्टको समस्या समाधान गर्ने राहदानी विभागको प्रतिवद्धता

२२ माघ, काठमाडौं । राहदानी विभागले पासपोर्ट अभाव नहुने गरी ठेक्का लगाउने बताएको छ ।

आज पत्रकार सम्मेलन गर्दै समयमै टेन्डर अवार्ड गरी पासपोर्टको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो । महानिर्देशक तीर्थराज अर्यालले राहदानी विभागसँग १० लाख २१ हजार ७ सय पासपोर्ट बाँकी रहेको बताउँदै उक्त पासपोर्टले करिब १ वर्ष पुग्ने बताए । राहदानी विभागले नोभेम्बर २८ मा टेन्डर आह्वान गरेको थियो । 

सुरुमा जनवरी १२ गतेसम्म म्याद दिइएकोमा विवाद भएसँगै फेब्रुअरी ११ सम्म म्याद थप गरेको छ । विभागले टेन्डर डकुमेन्टमा संशोधन गरेपछि फेरि म्याद थप गर्नुपर्ने भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको छ । कार्यालयले प्रतिस्पर्धा बढ्ने भए म्याद थप गर्न विभागलाई निर्देशन दिएको छ । तर महानिर्देशक अर्यालले म्याद थपको सम्भावना कम रहेको बताए ।