२२ माघ, काठमाडौं । ‘नो केबलकार’ समूहले गर्भवती बोकेको एम्बुलेन्स अवरोध हुनेगरी रुख ढालेर बाटो अवरोध आफूहरुले नगरेको दाबी गरेको छ ।
जिल्लामा गठित मुक्कुम्लुङ सहयोग संघर्ष समितिका जिल्ला संयोजक कमल हाङसरुम्वाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षले पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै आन्दोलन गरिरहेका अवस्थामा घुसपैठ गरी बदनाम गर्ने षड्यन्त्र स्वरुप यस्तो काम भएको दाबी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ- 'हामी शान्तिपूर्ण आन्दोलनमा रहेको अवस्थामा हिजो राती हिलिहाङ गाउँपालिका स्थित पामा वरक (जोरपोखरी) नजीक रुख ढाली वाटो अवरोध गरिएको भन्ने सामाजिक संजालमार्फत थाहा हुनआएकोले यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । निहत्था जनतामाथि निर्मम दमनमा उत्रेको सरकारले आफै सुनियोजित ढंगले यस्ता हर्कतहरु गरेर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बद्नाम गर्न खोजिएको भन्ने हाम्रो ठम्याई रहेको छ । यी सबै परिस्थितिको जिम्मा दमनकारी सरकारले लिनुपर्दछ । त्यसैले, शान्तिपूर्ण आन्दोलनमा यस किसिमको कार्यक्रम नरहेको र अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तथा घोषित यातायात बन्द कार्यक्रम भने जारी रहेको सबै सम्बद्ध पक्ष र आम नागरिकमा यसै विज्ञप्तीमार्फत जानकारी गराउँदछौं ।'
सोमबार राति मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरी–गोपेटार खण्डमा रुख ढालेर सडक अवरोध गरेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आलोचना चुलिएसॅगै आन्दोलनरत पक्षले विज्ञप्ति जारी गर्दै घटना आफूहरुले नगराएको दाबी गरेको हो ।
सडक अवरोधका कारण हिलिहाङ-२ को सिंहापुरदेखि सदरमुकाम फिदिम ल्याइँदै गरेकी १८ वर्षीया कल्पना जोगीसहितका बिरामी झण्डै ५ घण्टा रोकिएका थिए ।
जोगीलाई लिएर आउँदै गरेको एम्बुलेन्सका चालक नुपु शेर्पाले रुख ढलेको र एम्बुलेन्समा बिरामी चिच्याइरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेसॅगै त्यो भिडियो यतिबेला भाइरल भएको छ । ढालिएको रुख प्रहरीले हटाएसॅगै जोगीलाई पाँचथर अस्पताल पुर्याइएको थियो ।