२२ माघ, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ७७ औं सेना दिवस मनाएको छ । के.एम करियाप्पाले भारतीय सेनाको कमाण्डर समालेको सम्झनामा प्रत्येक वर्ष भारतीय सेनाले सेना दिवस मनाउँदै आएको छ ।
प्रमुख अतिथिको रुपमा नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा श्री अशोक राज सिग्देल सहभागी थिए ।
समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे ।
भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरुका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महारथी अशोक राज सिग्देलले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी उपेंद्र द्विवेदीेलाई तथा सम्पूर्ण भारतीय सेना भ्रातृत्वलाई भारतको ७७ औं सेना दिवसको शुभकामना व्यक्त गरे ।
दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गरे । भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान गरे ।