२३ माघ, काठमाडौं । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको भन्दै ३ वटा ट्रक चालकहरू कारबाहीमा परेका छन् ।
हुलाकी राजमार्गको कपिलवस्तु नगरपालिका सडक खण्डमा मन्त्री कार्कीको गाडी लु १ झ ७३८ पश्चिमबाट पूर्व तर्फ तीव्र गतिमा जाँदै गर्दा साइड नदिएको आरोपमा प्र १०२००१ ख ८४७३, ३३५१ र ९२०७ नम्बरका ट्रकलाई ५ सय रुपैयाँ दरले जरिवाना गरिएको हो ।
मन्त्रीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले ट्रक चालकहरूलाई रोकेर ट्राफिकलाई जर्जस्ती कारबाही गर्न निर्देशन दिएका थिए।ट्रक चालकहरूले भने सत्ताको दम्भ देखाएर कारबाही गरिएको आरोप लगाएका छन्।
बिहान ९ बजे भालुवाङबाट भैरहवामा आयोजित जनस्वास्थ्य कार्यक्रमका लागि हिँडेका मन्त्री कार्कीको गाडी तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मन्त्रीका पिएसओ भने पटक पटक साइडको लागि आग्रह गर्दा पनि नदिएकाले कारबाहीको सिफारिस गरेको बताएका छन् ।