२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशनको उम्मेदवारीबारे अहिले नै चर्चा गर्ने बेला भइनसकेको बताएका छन्।
पोखरामा बुधबार पत्रकारहरूसँग कुरा गर्दै गगनले २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट आफू महामन्त्री निर्वाचित भएको र जिम्मेवारीअनुसार कामहरू गर्दै १५ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने जिम्मेवारी रेहेको बताए ।
‘म अहिले कांग्रेसको महामन्त्री छु, मेरो जिम्मेवारी भनेको १५ औं महाधिवेशनसम्म पार्टीका सबै काम गरेर सफलतापूर्वक आउँदो महाधिवेशन गराउने हो,’ थापाले भने, ‘त्यो जिम्मेवारीमा म केन्द्रित छु। अहिले नै १५ औं महाधिवेशन लाग्ने बेला भएको छैन भन्ने ठान्छु। महाधिवेशनको उम्मेदवारीबारे चर्चा गर्ने समय आइसकेको छैन।’
फरक प्रसंगमा थापाले आफू पार्टीभित्र कुनै गुटभन्दा पनि सिङ्गो पार्टीको हुन चाहेको बताएका छन्। ‘म नेपाली कांग्रेसमा कुनै गुट होइन, सिङ्गो कांग्रेसको हुन चाहन्छु, त्यसका निम्ति मेरो प्रयास छ, प्रयास रहन्छ,’ महामन्त्री थापाले भने।