२३ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । आज बैंकले ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २० दिनका लागि निक्षेप संकलन गर्न लागेको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन । यो २० दिने निक्षेप संकलन उपकरणको फागुन १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।