२३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ०८४ को निर्वाचनअघि वामपन्थी ध्रुवीकरणको सम्भावना नरहेको बताएका छन् ।
प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले वामपन्थी एकता अन्तर्गत नेकपा एमालेसँग पार्टी एकीकरण र गठबन्धन गरिसकेको स्मरण गराउँदै अब सम्भावना नरहेको बताएका हुन् । उनले दुई ठूला दल मिलेर गठबन्धन सरकार चलाइरहेका कारण माओवादी प्रतिपक्षमै बस्ने बताए ।
‘हामीले वामपन्थी मिल्नुुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्स करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ,’ पुनले भने, ‘२०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । वामपन्थी ध्रुवीकरण सम्भव छैन । ओलीजीले दुईपटक धोका दिइसक्नुभएको छ । उहाँबाट तेस्रोपटक धोका खाने पक्षमा छैनौँ ।’