|  

पार्टीले गरेको ठुलै कार्यक्रममा समेत आफुलाई निम्तो आएनः डा.कोइराला

२३ माघ, काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले पोखरामा औपचारिकरूपमा ठूलो कार्यक्रम हुँदा समेत नबोलाएको भन्दै आपत्ति जनाएका छन् । 

सभापति शेरबहादुर देउवा, पार्टीका अधिकांश पदाधिकारीसहितका नेताको जमघट हुँदा आफूलाई छुटाइएको भन्दै कोइरालाले आपत्ति जनाएका हुन । पार्टीले राखेको ठूलो कार्यक्रममा निम्तो नै नआएपछि आफू नगएको उनको भनाई छ । ‘पार्टीले देशभरका प्रदेशको नेतृत्व, जिल्ला सभापतिदेखि शीर्ष नेतालाई बोलाएर पोखरामा कार्यक्रम र्गयो, तर मलाई बोलाइएन । पार्टीले नबोलाएपछि ठूलो कार्यक्रम छ भनेर त्यत्तिकै जाने कुरा हुँदैन । यसैले म गइनँ ।’

शेखरले आफ्नो व्यक्तिगत सवालमात्रै नभएको भन्दै पोखरा घटना कांग्रेसका लागि विडम्बना भएको बताए । पोखरामै पुगेर पनि सभापतिसहितका नेताले पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएको तर व्यवहार उल्टो गरेको शेखरको टिप्पणी छ । पोखरामात्र होइन, यसअघि विराटनगरमा कार्यक्रम गर्दा पनि आफूलाई अनावश्यक रूपमा पेल्ने काम भएको शेखरले बताए ।