२३ माघ, काठमाडौं । साहारा चितवन सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध अदालतमा दर्ता गरेको अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न समिति गठन भएको छ ।
चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन । छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौंडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन् । समितिले अब साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलन अभियोजन कसरी गरिएको हो भनेर सत्यतथ्य पत्ता लगाउने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । हाल जाहेरी परेको रकम ३८ करोड ९ लाख ७९ हजार १७७ क्षतिपूर्ति भराउन माग दाबी गरिएको छ । ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप १४ करोड २३ लाख ६ हजार १३१ दशमलव ४७ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुने गरी अभियोग दाबी गरिएको छ । बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न ६ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउनुपर्ने रकम ४३ करोड ३२ लाख सात हजार ९२८ दशमलव ७५ रहेको छ । व्यक्तिगतरूपमा जिबी राईबाट ४१ लाख ३० हजार, असरफअलि सिद्दिकीबाट ३ करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङबाट २ करोड ६४ लाख भराइनुपर्ने माग दाबी गरिएको छ ।