२३ माघ, काठमाडौं । राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।
आज सिंहदरबारमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जोड दिएका हुन् । उनले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै वैकल्पिक मार्गबाट हुन सक्ने अवैध निकासी-पैठारी नियन्त्रणतर्फ विशेष ध्यान दिनु पर्ने र सबै निकाय जिम्मेवारपूर्ण ढङ्गबाट सकृय भएर लाग्दा अवैध कारोबारको नियन्त्रणमा उल्लेखनीय उपलब्धी हासिल गर्न सकिने बताए ।
बैठकमा सहभागी अधिकारीहरूले अवैध निकासी पैठारी नियन्त्रणमा क्रमशः सुधार आए तापनि सार्थक नतिजाका लागि थप पहल गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनीहरूले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै बजार अनुगमनलाई बढाउनु पर्ने र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । समितिको बैठकमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायका अधिकारीहरूको सहभागिता थियो ।