|  

नुवाकोटमा बस र बाइक ठाेक्किदा १ जनाको मृत्यु, १९ घाइते

२३ माघ, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएपछि मृतकका आफन्तले त्रिशूली–काठमाडौं सडकखण्ड अवरोध गरेका छन । अहिले मृतकका आफन्तसँग वार्ता चलिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

गल्छिबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल आज दिउँसो पौने २ बजे एक आपसमा ठोक्किएको थियो । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको छ ।